हालसम्म कूल जनसंख्याको ४१ लाख ६५ हजारले डिम्याट खाता खोलेका छन् । यसले पूँजी बजारको दायरामा राम्रो प्रभाव पारेपनि दीर्घकालीन समयमा लागि जोखिम निम्त्याउने सेयर विज्ञहरूले बताउँदै आएका छन् । पूँजी बजार लगानी गर्नका लागी सजिलो भएतापनि असाध्यै प्राक्टिकल फिल्ड हो ।
पछिल्लो समय डिम्याट खाता खोल्नेको संख्या दैनिक रुपमा बढिरहेको छ । तर यसले आगामी दिनमा कस्तो प्रभाव पर्छ त्यसको कुनै आँकलन गरिएको छैन् । डिम्याट खाता खोल्नेको संख्या असार–साउनमा भेल आए जस्तो नै भएको ठूला लगानीकर्ता बताउँछन् तर बाली भित्र्याउन सकिन्छ की सकिँदैन भन्ने कुनै आँकलन गर्न सकिँदैन त्यस्तै अहिलेका अवस्था रहेको छ ।
पूँजी बजारमा संख्या बढेपनि चेतनाको स्तर र पूँजी बजारका आधारभूत कुराहरू बढाउनमा सम्बन्धित निकाय तथा नियामक निकायले पनि खासै चासो देखाएको छैन् । लगानीकर्ताको सहभागिताले लामो समयदेखि बजारमा खेल्दै आएका पुराना तथा ठूला लगानीकर्तालाई फाइदा नै हुन्छ तर नयाँ आउने लगानीकर्तालाई भने फाइदा नहुने संकेत गरिएको छ । ४० लाख डिम्याट खाताबाट ८० लाख नै भएमा ठूला लगानीकर्तालाई फाइदा हुन्छ तर यसले डरलाग्दो क्षति निम्त्याउने आशंका गरिएको छ । बजारका आधारभूत कुराहरू मजबुत, नयाँ लगानीकर्तालाई शिक्षा र चेतनाका कुराहरु सिकाउनु पर्छ तर यस्तो कुनै निकायबाट भएको देखिदैँन् । नेपाल इन्भेस्टर्स फोरमको पूर्व अध्यक्ष तथा नेपाल टेलिकम सञ्चालक समिति सदस्य अम्बिका पौडेलसँग गरिएको संक्षिप्त कुराकानीको सार यहाँ प्रस्तुत गरिएको छ ।
सबै लगानीकर्ताले सेयर (आईपीओ) पाउन के गर्नुपर्छ
?
सरकारले मेगा प्रोजेक्टहरू ल्याउनुपर्छ । १० अर्ब, २० अर्ब ५० अर्ब रुपैयाँ भएका कम्पनीहरू ल्याउनुपर्छ । ठूलाठूला कालीगण्डकी, बुढीगण्डकी, फास्ट ट्रयाक, टनेल मार्गहरू, सिटी डेभलपमेन्टका प्रोजेक्ट सरकारले ल्याउनुपर्छ । केही रकम सरकारले हाल्छ, अनि सर्वसाधारणबाट केही रकम उठ्छ । जस्तै, ३० अर्ब सर्वसाधारणबाट संकलन गर्ने हो भने आजका मितिमा सबै डिम्याट खाता खोलेका लगानीकर्ताले पाउनुहुन्छ । राष्ट्र निर्माणका लागी पूँजी संकलन पनि हुन्छ । आईपीओ मार्फत पूँजी बजारमा आउन चाहनलाई पनि सजिलो हुन्छ । सबैलाई विनविन पनि हुन्छ ।
अझै १५–१८ लाखले आईपीओमा आवेदन किन दिनुहुँदैन
?
अहिले पनि आईपीओमा संस्थागत लगानीकर्तालाई प्रवेश निषेध छ । संस्थागत लगानीकर्ताको पनि डिम्याट खाता हुन्छ । एउटै संस्थाको अथवा एउटै ब्यक्तिको २ वा सो भन्दा बढी डिम्याट खाता पनि छन् । कति प्राकृतिक व्यक्ति र कति संस्थागत डिम्याट खाता छ भनेर छुट्यायो भने बल्ल यकिन संख्या भन्न सकिन्छ । डिम्याट खातालाई नै आधार मानेर यति नै संख्या भयो भनेर भन्न सकिन्न । जसरी एउटै ब्यक्तिले धेरै बैंकमा खाता खोल्न सक्छन्, त्यस्तै अवस्था यहाँ पनि रहेको छ । अब कतिपय आईपीओ नभर्ने पनि छन् ।
१० कित्ताको सट्टा बढाएमा थोरै लगानीकर्ताले मात्रै आवेदन दिँदा सबैलाई पर्छ की
?
त्यो त हुँदैन । झन् संख्या कम हुन्छ । अहिले १० कित्ते हटाएर ५० कित्ते बनाईयो भने पर्ने चान्स नै हुँदैन् । त्यो ५ टाइम कम भयो नि । म चाँही १० कित्ताभन्दा अलि माथिल्लो रेञ्जमा जानुपर्छ भन्नेमा हुँ । पूँजी बजारलाई पुर्वाधार र शिक्षासँग सँगै यसको दायरा फराकिलो बनाउनु पर्छ भन्दाखेरि म विवादमा आईरहेको हुन्छु । धेरै मान्छेले गालि पनि गर्नुहुन्छ । उहाँहरु सबैलाई खाल्डो अगाडि छ, परिन्छ, विचार गर्नुहोस है पाइला चाल्दा, अन्धाधुन्दा नचाल्नुहोस्, यो प्रिन्सिपल होइन भन्दा मान्नुहुन्न । त्यसैले यो विषयमा मैले बोल्न नै छोडिसकेको छुँ ।
पूँजी बजारको विस्तार सँगै शिक्षाको पनि आवश्यकता छ भन्न खोज्नु भएको हो
?
एकदमै । पूँजी बजार सबैभन्दा प्राविधिक विषय हो । कफि सप चलाउनु भयो भने धेरै चिन्ता नगरे हुन्छ, उद्योग खोल्नु भयो भने बेसिक कुराहरू थाहा पाए हुन्छ त्यो उद्योगको बारेमा, तर पूँजी बजारमा लगानी गर्ने लगानीकर्ताले बैंकमा लगानी गरेको छ भने बैंकको बारेमा थाहा पाउनुपर्छ, इन्स्योरेन्समा लगानी गर्दा इन्स्योरेन्सको बारेमा थाहा पाउनुपर्छ, मल्टिडाइमण्ड्स इन क्यापासिटि चाहिन्छ । तर अहिले अन्धाधुन्दा भैरहेको छ । बर्खामा पानि परिरहेको छ, तारि खेत पनि मज्जाले हरियो भईरहेको छ । अनि सबैलाई के भ्रम हुन्छ भन्दाखेरी कूलो वा नहर बीना पनि धान उब्जाउन सकिन्छ भन्ने हुन्छ । अनि त्यो भ्रमले अन्ततः बाली काट्न पाउनुहुन्न, सुकेर जान्छ ।
यो संख्या अझै बढ्छ की घट्छ
?
मलाई यो संख्या अझै बढ्छ जस्तो लागेको छ । तपाइ हामीले सोचेभन्दा अझै माथि जान्छ । यो बुलको बिशेषता यस्तै हुन्छ । यो संख्या क्रमशः बढ्छ । सबैलाई म छुटे म छुटे जस्तो भान भईरहेको छ । सँगैको मान्छे धेरै माथि गयो म छुटे भन्ने हुन्छ ।
0 Comments