एडिएसएलमा इन्टरनेट तीब्र गतिमा चल्ने,ल्याण्डलाइन फोन आइपी प्रविधिमा रुपान्तरण

नेपाल टेलिकमले देशभरका ल्याण्डलाइन फोनलाई आइपी प्रविधिमा रुपान्तरण गर्ने भएको छ। तीन वर्षभित्रमा देशभर रहेका ६ लाख ४५ हजार ल्याण्डलाइन फोनलाई उच्चस्तरिय आईपी प्रविधिमा रुपान्तरण गर्न लागिएको टेलिकमका प्रवन्ध निर्देशक वुद्धिप्रसाद आर्चायले सेतोपाटीलाई जानकारी दिए। 

२५ हजार ल्याण्डलाइन फोन भने यसअघि नै आईपी प्रविधिमा रुपान्तरण भइसकेका छन्। प्रविधि अनुकुल चल्न, डाटा सेवा चुरुस्त बनाउन र ब्रोड ब्याण्ड इन्टरनेट सेवा ग्राहकहरुलाई प्रदान गर्न लागि ल्याण्डलाइन टेलिफोनलाई आइपी प्रविधिमा रुपान्तरण गर्न लागिएको आर्चायले बताए।

अहिले अमेरिका र युरोपमा रहेका ल्याण्डलाइन टेलिफोन आईपी प्रविधिमा नै आधारित छन्। ल्याण्डलाइन फोनलाई आईपीमा बदल्न उपत्यकाबाट नै काम सुरु हुने आर्चायले बताए। 'ग्राहकले भ्वाइस सेवाको अलावा इन्टरनेट सेवा पनि अब राम्रो पाउँछन्' आर्चायले भने । अहिलेको भन्दा इन्टरनेट तीब्र गतिको हुने उनले बताए। अहिले टेलिकमको एडिएसएल नर्मल प्रविधिमा आधारित भएर सञ्चालित छ ।

नर्मल प्रविधिमा ग्राहकलाई बाँड्ने इन्टरनेटको गति १ सय २८ केबिपिएसबाट सुरु हुन्छ भने आइपी प्रविधिमा बदलिएपछि ब्रोण्डब्याण्डबाट २ सय ५४ केविपिएस भन्दामुनि इन्टरनेट वितरण गर्न मिल्दैन। आईपी प्रविधिमा रुपान्तरण भइसकेपछि सबैभन्दा धेरै इन्टरनेट चलाउने ग्राहकलाई फाइदा पुग्दछ। 

विस्तारै इन्टरनेट बढी चल्ने स्थानहरु छानेर त्यहाँका ग्राहकलाई टेलिभिजन हेर्ने सुविधा पनि दिइने आफूहरुको योजना रहेको आर्चायले बताए। ग्राहकलाई तीब्र गतिमा इन्टरनेट प्रदान गरेपनि त्यसको मूल्य महँगो नहुने उनले बताए। अहिलेकै मूल्यमा इन्टरनेट चलाउन सकिने आर्चायले बताए।

अहिले टेलिकमले बाँडिरहेको इन्टरनेटको एक्सचेन्ज सेन्टर टाढा-टाढा छ । इन्टरनेट चुहावट हुने गरेको टेलिकमको आशंका छ। आईपी प्रविधि जडान भएपछि दुई किलोमिटर दुरीमा एक्सचेन्ज सेन्टर रहने र त्यसबाट इन्टरनेट बाँड्दा चुहावट नहुने आर्चायले बताए।

0 Comments