राहदानी विभागले सुरु गर्याे, अनलाइन प्रविधिमा आधारित प्रत्यक्ष दर्ता प्रणाली सेवा : १० मिनेटमा राहदानी पार्इने

परराष्ट्र मन्त्रालय, राहदानी विभागले आजदेखि अनलाइन प्रविधिमा आधारित प्रत्यक्ष दर्ता प्रणाली सेवा सुरु गरेको छ । आजै दाङ धनौरीकी चन्द्रकली बुढाथोकीले १० मिनेटमै राहदानी प्राप्त गरेकी छन् ।


राहदानी लिने सेवाग्राहीलाई सहज रुपमा एमआरपी शीघ्र उपलब्ध गराउने सरकारी नीति अनुसार प्रत्यक्ष दर्ता तथा फाराम भर्ने लगायत सम्पूर्ण काम विभागबाटै हुने पद्धतिको प्रारम्भ गर्दै उपप्रधान तथा परराष्ट्मन्त्री कमल थापाले बुढाथोकीलाई राहदानी प्रदान गरे । ‘छ वर्षअघि एमआरपी निर्माण एवम् वितरण थालिएको सन्दर्भमा आजदेखि सुरु भएको प्रत्यक्ष दर्ता प्रणाली राहदानी वितरणको इतिहासमा कोसेढुङ्गा भएको छ’ परराष्ट्रमन्त्री थापाले बताए । केन्द्रमा मात्र नभई जिल्लामा पनि द्रुतसेवा उपलब्ध गराउन सरकार क्रियाशील रहेको जनाउँदै विदेशस्थित १० नेपाली नियोगमा पनि प्रत्यक्ष दर्ता प्रणाली प्रारम्भ भएको कुरा व्यक्त गरे । साथै उनले यो सेवा जिल्लामा पनि सञ्चालन गर्ने तयारी भइरहेको बताए । सरकारको गत जेठ २३ गतेको निर्णयानुसार द्रुत सेवा प्रयोग गरी सेवाग्राहीले एकै दिनमा राहदानी लिन चाहेमा रु १५ हजार दस्तुर तिर्नुपर्छ । त्यसैगरी रु १२ हजार शुल्क बुझाए दुई दिन र रु १० हजार राजस्व बुझाएमा तीन दिनमा एमआरपी पाइने छ । विभागका अनुसार पाँचदेखि १५ दिनमा जिल्लाबाट पनि सेवाग्राहीले राहदानी पाउन सक्नेछन् । जिल्लाबाट फाराम प्राप्त भएपछि २४ घन्टाभित्रै विभागले राहदानी बनाउने गरेको छ । यसअघि विभागले रु १० हजार दस्तुर लिएर एक सातामा नै राहदानी उपलब्ध गराउँदै आएको थियो । प्रत्यक्ष दर्ता प्रणाली अन्तर्गत सेवाग्राहीले राहदानी विभागकाे वेबसार्इटमा ‘लगइन’ गरी आफ्ना विवरण आफ्नै कम्प्युटरमा स्वयम् भरी वा विभागमा गएर पनि उक्त विवरण विभागमा पठाइएको २१ दिनभित्र सेवाग्राही रुजु गर्न नगएमा उक्त पद्धतिबाट प्रस्तुत विवरण स्वतः हट्नेछ ।

0 Comments