यस्तो कोठामा बस्दा कोरोना सर्ने अधिक डर, वैज्ञानिकले दिए यस्तो चेतावनी

 

कोरोना महामारी नियन्त्रण तथा रोकथाम गर्न भारतको केन्द्र सरकारले जारी गरेको निर्देशिकामा एरोसोल हावामा १० मिटरसम्म फैलन सक्ने उल्लेख गरिएको छ । त्यसैले कोरोना संक्रमणबाट बच्नका लागि घरभित्र पर्याप्त प्रकाश आउनसक्ने खुला स्थान हुन आवश्यक छ, ताकि भेन्टिलेसन ठीकसँग हुन सकोस् । खुला र फराकिला घरहरु तथा कोठाहरुमा संक्रमणको जोखिम कम हुने गर्दछ ।

यस्तो एड्भाइजरी भारत सरकारको प्रमुख वैज्ञानिक सल्लाहकारको कार्यालयबाट जारी गरिएको हो । उक्त एड्भाइजरीमा केही सामान्य कदमहरुबाट कोरोना संक्रमणको खतरालाई कम गर्न सकिने उल्लेख गरिएको छ । एड्भाइजरीमा उल्लेख गरिएको छ,‘राम्रो भेन्टिलेसनबाट एक व्यक्तिबाट अर्काे व्यक्तिमा कोरोना फैलने खतरा कम हुन्छ । ढोका खोल्दा दुुर्गन्ध कम भएजस्तै खुला ढोका, खुला झ्याल र एड्जस्ट फ्यानबाट संक्रमणको खतरालाई कम गर्न सकिन्छ ।

यसबाट भाइरसको लोड कम हुन्छ र एक व्यक्तिबाट अर्काे व्यक्तिमा संक्रमण फैलने आशंका कम हुन्छ । घर वा कोठाहरुका भेन्टिलेसनले संक्रमणबाट बचाउनका लागि सामूहिक सुरक्षाको काम गर्ने गर्दछ ।’ यो एडभाइजरीमा कार्यालय, घर वा सार्वजनिक स्थानहरुमा बाहिरी हावाको आगमन हुनुपर्ने उल्लेख गरिएको छ । ड्रपलेट र एरोसोलका माध्यमबाट भाइरस धेरै फैलन्छ । ड्रपलेट्सहरु दुुई मिटरसम्म हावामा फैलन सक्छन् । जबकि एरोसोल्स १० मिटरसम्म हावाका साथ जाने गर्दछन् ।

ड्रपलेट र एरोसोल दुवै मानिसले हाच्छ्युु गर्दा, खोक्दा, थुक्दा वा बोल्दा निक्लने गर्दछन् । जब कुनै व्यक्ति संक्रमित छ भने यी माध्यमहरुबाटै दोस्रो व्यक्तिलाई संक्रमति गर्न सक्दछन् । एडभाइजरीमा झ्याल र ढोका बन्द गरिएका कोठाहरुमा संक्रमणको जोखिम बढी हुने उल्लेख गरिएको छ । बन्द कोठाहरुमा बाहिरी हावाको आवागमन हुन पाउदैन । जसका कारण संक्रिमत हावा कोठाभित्रै रहने गर्दछ । विश्व स्वास्थ्य संगठनका अनुसार ड्रपलेट्स अर्थात मुखबाट निस्कने सूूक्ष्म कणका आकार १० माइक्रोमिटर हुने गर्दछ । यस्तै एरोसोल पाँच माइक्रोमीटरभन्दा पनि कम हुन्छ ।

यी दुवैमा संक्रमण फैलाउनसक्ने क्षमता हुने गर्दछ । फरक यति मात्र हो कि दुवैको आकार भने फरक हुने गर्दछ । कोरोना संक्रमणलाई रोक्नका लागि क्रस भेन्टिलेसन एकदमै आवश्यक हुने एड्भाइजरीमा उल्लेख गरिएको छ । भारतका अस्पतालहरुलाई खोप लगाइने स्थानहरुमा क्रस भेन्टिलेसन अनिवार्य रुपमा राख्न भनिएको छ । गत महिना भारतका नीति आयोगका स्वास्थ्य सदस्य डाक्टर वीके पालले घरभित्र पनि मास्क लगाउन सल्लाह दिएका थिए ।

कोरोना भाइरस हावाका माध्यमबाट फैलिरहेको छ कि छैन भनेर थाहा पाउन कयौँ अनुसन्धानात्मक रिपोर्टहरु प्रकाशित भइसकेका छन् । यो वर्षको अप्रिल महिनामा चर्चित विज्ञान पत्रिका द लेन्सेन्टले कोरोना भाइरस हावाबाट फैलिरहेको दाबी गरेको थियो । एमआईटी अनुसन्धानमा पनि हावाबाट संक्रमण फैलिरहेको आशंका गरिएको थियो ।

उक्त अनुसन्धानमा ६ फिटको समाजिक दुरी प्रभावकारी नभएको उल्लेख गरिएको थियो । हावाबाट कोरोना फैलने रिपोर्टलाई लिएर विश्व स्वास्थ्य संगठनले पनि आफ्नो कुरा राखिसकेको छ । विश्व स्वास्थ्य संगठन भन्छ,‘अहिलेसम्मको प्रमाणहरुबाट मुख्य रुपमा कोरोना संक्रमण दुुई व्यक्तिहरुको सम्पर्कबाट फैलिरहेको जानकारी आएको छ । यो सम्पर्क एक मिटरको दुरीसम्म पनि खतरनाक छ ।

एक संक्रमित व्यक्तिको एरोसोल्स वा ड्रपलेट्स दोस्रो व्यक्तिको आँखा, नाक वा मुखका माध्यमबाट प्रवेश गरेर संक्रमित गर्न सक्छन् ।’ विश्व स्वास्थ्य संगठनका अनुसार भाइरस भएको भित्ता वा सतहमा छोएर मानिसहरुले आफ्नो नाक, मुख, आँखा छोइरहँदा संक्रमण फैलिरहेको छ ।


0 Comments