पछिल्लो समय सेयर बजारमा कारोबार गर्ने लगानीकर्ताका संख्या हरेक दिन बढिरहेको छ । अझ सेयर कारोबार अनलाइनमार्फत् नै गर्न मिल्ने भएपछि लगानीकर्ताहरु यसतर्फ आकर्षित भएको देखिन्छ । नेपालमा सेयरको कारोबार शुरु हुँदा बैंकमा गएर सेयर खरिदका लागि आवेदन दिनु पर्ने अवस्था थियो । त्यसपछि ब्रोकर कार्यालयमा गएर चिच्चाएर अर्डर दिनुपर्ने अवस्था थियो ।
समय क्रमसँगै सेयर कारोबार अनलाइनबाट पनि सम्भव भएको छ । जसलाई हामी टीएमएस भन्छौं । नेप्सेका अनुसार अहिले औसतमा ८० प्रतिशतभन्दा बढी कारोबार अनलाइनबाट मात्रै हुन थालेको छ । नेप्सेका अनुसार टीएमएस लिनेको संख्या करिब ३ लाख ५० हजार पुगेको छ । तथ्यांक हेर्दा हालसम्म २८ लाख ८३ हजारभन्दा बढीले डिम्याट अकाउन्ट खोलेका छन् । त्यसैगरी मेरो सेयर खोल्नेहरुको संख्या पनि १५ लाखभन्दा बढी छ ।
तथ्यांक हेर्दा पछिल्लो १ वर्षमा मात्रै दोब्बरभन्दा बढीले डिम्याट र मेरो सेयर खोल्ने बढेका छन् । कोरोना महामारीको शुरुवातमा आएको नेपाल पुनर्बीमा कम्पनी र हालै निष्कासन भएको नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आइपीओका कारण डिम्याट र मेरो सेयर लिनेको संख्यामा उल्लेख्य वृद्धि भएको हो ।
अझ सानो लगानीबाट पनि सेयर कारोबार गर्न सकिने भएकाले मानिसहरुले आफूले बचत गरेर राखेको पैसा सेयरमा लगानी गर्न थालेको देखिन्छ । अन्य कुनै व्यवसाय शुरु गर्नका लागि १÷२ लाख रुपैयाँले पुग्दैन । तर सेयरमा लगानी गर्नका लागि २० हजारबाट मात्रै शुरु गर्छु भन्न पनि सकिन्छ वा त्योभन्दा कम पैसाबाट लगानी शुरु गर्न सकिन्छ ।
के हो टीएमएस ?
टीएमएसको पूरा रुप हो, ट्रेड म्यानेजमेन्ट सिस्टम । यो अनलाइनबाट सेयर कारोबार गर्नका लागि प्रयोग गरिन्छ ।
लगानीकर्ताले घर, कार्यालय वा आफू बसेकै ठाउँबाट कम्प्युटर, ल्यापटप, मोबाइललगायतका डिभाइसमा लगइन गरी सेयर कारोबार गर्न सक्छन् । तपाईं सङ TMS को युजर नेम र पासवर्ड भैसके पछि तपाईंसँग भएको सेयर बिक्री गर्नका लागि कुनै समस्या छैन । तपाईंले विदाको दिन बाहेक आइतबारदेखि बिहीबारसम्म बिहान ११ बजेदेखि ३ बजेसम्म कारोबार गर्न सक्नुहुन्छ । त्यसबाहेक ती दिनमा विहान १०ः३० बजेदेखि १०ः४५ बजेसम्मको १५ मिनेटको समयमा प्रि–ओपन सेसनमा पनि कारोबार गर्न सक्नुहुन्छ । टीएमएसबाट सेयर बिक्री गर्नका लागि तपाईंले अर्डरमा क्लिक गरेर सेल भन्ने अप्सनमा गइसकेपछि कम्पनीको नाम, बिक्री गर्न चाहेको सेयरको मात्रा र मूल्य लेखेर बिक्री गर्न सक्नुहुन्छ । यसरी बिक्री भए वा नभएको तत्कालै देख्न सकिन्छ ।
यसरी सेयर मूल्य राख्दा तत्कालको मूल्यभन्दा अधिकतम र न्यूनतम २ प्रतिशतसम्ममा राख्न सकिन्छ । त्यसैगरी टीएमएसबाट कुनै कम्पनीको सेयर खरिद गर्दा पनि बाइ अर्डरमा गएर कम्पनीको नाम, खरिद गर्न चाहेको कित्ता र मूल्य राखेर समिट गर्न सकिन्छ । तर यसका लागि तपाईंसँग खरिद गर्न लागेको कुल रकमको २५ प्रतिशत रकम टीएमएसमा धितोका रुपमा राख्नुपर्ने हुन्छ । तपाईंले ब्रोकर कार्यालयमार्फत् कनेक्ट आइपीएसमार्फत् टीएमएसको कोल्याट्रर राख्न सक्नुहुन्छ ।
कोल्याट्रलरमा जति रकम देखिन्छ त्यसलाई २५ प्रतिशत रकम मान्न सकिन्छ । जस्तै तपाईंको कोल्याट्रलमा २५ हजार रुपैयाँ छ भने तपाईंले १ लाख रुपैयाँसम्मको सेयर खरिद गर्न पाउनु हुन्छ । तपाईंले अर्डर र सेयर खरिद गरेसँगै धितोका रुपमा राखिएका कति रकम खर्च भयो भन्ने देखिन्छ ।
यदि तपाईंले सेयर खरिद गर्नु भयो भने त्यसवापतको पैसा ब्रोकर कार्यालय वा कनेक्ट आइपीएसमार्फत् भुक्तानी गरिसकेपछि धितो पुरानै अवस्थामा देखिन्छ । यसरी खरिद गरेको सेयर कित्ता ३ दिनभित्रमा तपाईंको खातामा आइसक्नुपर्ने व्यवस्था छ भने सेयर बिक्री गरे वापतको पैसा ३ दिनभित्र तपाईंको बैंक खातामा आइसक्छ ।
सेयर कारोबार गर्दा कति लाग्छ शुल्क ?
सेयर कारोबार भनेको खरिद वा बिक्री गर्नु हो । तपाईंले कुनै सेयर खरिद वा बिक्री गर्दा लाग्ने खर्च कतिको कारोबार हो भन्नेले अर्थ राख्छ । अर्थात् तपाईंले ५० हजार रुपैयाँसम्मको कारोबार गर्नु भएको छ भने ०.४ प्रतिशत शुल्क बुझाउनु पर्छ भने ५० हजारदेखि ५ लाख रुपैयाँसम्म ०.३७ प्रतिशत ५ लाखदेखि २० लाख रुपैयाँसम्मको कारोबारमा ०.३४ प्रतिशत शुल्क, २० लाखदेखि १ करोड रुपैयाँसम्म ०.३० प्रतिशत शुल्क १ करोड रुपैयाँभन्दा माथिको कारोबारमा ०.२७ प्रतिशत शुल्क लाग्छ । सेयर बिक्री गर्दा फाइदा भएको पैसामा मात्रै ५ प्रतिशत कर लाग्छ भने डिपी शुल्क भनेर प्रतिकारोबार २५ रुपैयाँ लाग्छ । त्यसबाहेक धितोपत्र बोर्डले पनि ०.०१५ प्रतिशत कमिसन लिन्छ ।
0 Comments