महिला लघुवित्तको आइपीओ आजबाट खुला

महिला लघुवित्त वित्तीय संस्थाले आजबाट ४ लाख कित्ता आइपीओ बिक्री खुला गर्दैछ । यसमध्ये ०.५५ (५ हजार कित्ता) कम्पनीका कर्मचारीलाई सुरक्षित गरिएको छ भने ५ प्रतिशत (२० हजार कित्ता) सेयर म्युचुअल फन्डलाई बाँडफाँट गरिएको छ । बाँकी ३ लाख ७५ हजार कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् । न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिनेछ ।

महिला लघुवित्तको आइपीओ फागुन २ गतेसम्म भर्न सकिनेछ । उक्त समयमा सबै सेयर बिक्री नभएमा भने फागुन १२ गतेसम्म खुला रहनेछ । लगानीकर्ताले सी–आस्वाको माध्यमबाट आवेदन दिन सक्नेछन् । यो आइपीओमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङले बिक्री प्रबन्धकको काम गर्दैछ ।

कस्तो छ रेटिङ ?

क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले महिलाको लघुवित्तलाई “इक्राएनपी बीबी” रेटिङ प्रदान गरेको छ । जसले कम्पनी समयमै वित्तीय दायित्व पूरा गर्न मध्यम जोखिममा रहेको आधार जनाउँछ । इक्रा नेपालले सन् २०२० अक्टोबर २१ मा यो रेटिङ दिएको हो । यो रेटिङ सन् २०२१ अक्टोबर २० सम्म बाहल रहनेछ ।

कति कित्ताका लागि दिने आवेदन ?

नेपालमा पछिल्लो समय आइपीओमा आवेदन दिने लगानीकर्ताको संख्या अत्याधिक देखिएको छ । प्राथमिक र दोस्रो बजार दुवैमा लगानीकर्ताको उत्साहजनक सहभागिता रहेको छ । जसका कारण दुई वटै बजारमा नयाँ नयाँ रेकर्डहरु बन्दै गएका छन् । आइपीओमा आवेदन दिनेको संख्या पनि उच्च रहेको छ । गत मंगलबार बिक्री बन्द भएको ग्रीनलाइफ हाइड्रोपावरमा माग भन्दा ७.३० गुणा बढी आवेदन परेको छ ।

यसमा झण्डै १४ लाख जनाले सेयर भरेका छन् । त्यसभन्दा अघि नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आइपीओमा पनि कुल १४ लाख ८१ हजार २८४ जनाले आवेदन दिएका थिए । पछिल्ला आइपीओमा परेको आवेदनलाई आधार मान्ने हो भने महिला लघुवित्तको सेयर पाउन पनि लगानीकर्ताले भाग्यमै भर पर्नुपर्नेछ । अझ महिला लघुवित्तले सर्वसाधारणलाई निष्कासन गरेको सेयर संख्या ग्रीनलाइफ र इन्फ्रास्ट्ररको तुलनामा अत्यन्तै न्यून छ ।

जसका कारण सेयर पाउन निकै भाग्यमानी हुनुपर्ने देखिन्छ । त्यसमाथि पनि लघुवित्तको सेयरमा अझै बढी आकर्षण हुने गर्छ । न्यूनतम १० कित्ताका दरले बाँडफाँट गर्ने हो भने पनि जम्मा ३७ हजार ५०० जना लगानीकर्ताले मात्र यो आइपीओ हात पार्ने देखिन्छ । तसर्थ, महिलाको आइपीओमा पनि १० कित्ताका लागि आवेदन दिए पर्याप्त हुनेछ । यद्दपि, यस कम्पनीले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन पाउने व्यवस्था गरेको छ ।

कम्पनी सम्बन्धी विवरण

महिला लघुवित्त वित्तीय संस्था लिमिटेड कम्पनी ऐन, २०६३ तथा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ अन्तर्गत स्थापित भएको कम्पनी हो । यस लघुवित्तको रजिष्टर्ड कार्यालय काभ्रेपलाञ्चोक जिल्ला, बनेपा नगरपालिका वडा नं. १३, साँगा, काभ्रेपलाञ्चोकमा रहेको छ ।

महिला लघुवित्त २०७५ जेठ २४ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा पब्लिक लिमिटेड कम्पनीको रूपमा दर्ता भएको थियो । यसले २०७५ असोज २२ गते वित्तीय संस्थाको रूपमा वित्तीय कारोबार गर्न नेपाल राष्ट्र बैंकबाट इजाजत पाएको थियो भने औपचारिक रुपमा २०७५ कात्तिक १ गतेदेखि कारोबार सुरु गरेको थियो ।

हाल यस लघुवित्तले २९ जिल्लाहरुमा ५३ वटा शाखा कार्यालय र ५ वटा सुपरीवेक्षण तथा निरीक्षण कार्यालयहरु स्थापना गरी कारोबार गर्दै आइरहेको छ । आवश्यकता अनुसार नेपाल राष्ट्र बैंकको स्वीकृति लिएर शाखा, उपशाखा वा अन्य कार्यालय खोली कारोबार गर्न सक्नेछ ।

0 Comments