फोनमा थोरै डाटा खर्चेर धेरै नेट चलाउने उपयाेगी टिप्सहरु

मोवाइल फोनमा इन्टरनेट (डाटा) चलाउने तरिका थाहा पाइएन भने एकै छिनमा ब्यालेन्स सकिन्छ । तरिका जान्यो भने थोरै ब्यालेन्सले धेरै समय नेट चलाउन सकिन्छ । मोवाइल फोनमा ब्यालेन्स जोगाएर थोरै डाटा खर्च गरेर धेरै नेट चलाउने अत्यन्तै उपयोगी केही टिप्सहरु :

                                                                                            अनावश्यक एपहरु बन्द गर्नुहोस्
डाटा अन गरेर तपाईं जुन एप चलाउन लाग्नुभएको छ, त्यो मात्रै चलाउनुहोस् । जस्तो कि फेसबुक या ट्विटर चलाउन लाग्नुभएको छ भने त्यो एउटा मात्र चलाउनुस् । अन्य एपहरु बन्द गर्नुहोस् । एपहरु बन्द गर्ने तरिका फोन अनुसार भिन्नभिन्न हुन्छ । आफ्नो फोनमा एप बन्द गर्ने तरिका जान्नुहोस्, ध्यान दिएर केही बेर फोन चलाउनुभयो भने यस्तो तरिका सजिलै थाहा पाउन सकिन्छ ।

ब्याकग्राउण्ड डाटा अफ गर्नुहोस्
सबैभन्दा मुख्य कुरा ब्याकग्राउण्ड डाटा अफ गर्नुहोस् । तपाईं फेसबुक चलाइरहनुभएको हुन्छ तर तपाईंले थाहै नपाइ ब्याकग्राउण्डमा अन्य एपहरु पनि स्वत चलिरहेको हुन्छ । ती एपहरुले डाटा खाइरहेको हुन्छ । एन्ड्रोइड फोनहरुमा ब्याकग्राउण्ड डाटा अफ गर्न सेटिङमा गएर इन्टरनेट अप्सनमा जानुस् । त्यहाँ ‘रेष्ट्रिक्ट ब्याकग्राउण्ड डाटा’ मा ओके गर्नुहोस् । ब्याकग्राउण्ड डाटा रेष्ट्रिक्ट गरेपछि फोनको होम स्क्रिनको माथिपट्टि तीनकुने चिन्ह देखा पर्छ । त्यो चिन्ह खोलेर हेर्नुहोस, त्यसमा ब्याकग्राउण्ड डाटा रेष्ट्रिक्टेड लेखिएको हुन्छ । अर्थात्, होम स्क्रिनमा माथिपट्टि तीन कुने चिन्ह भए नभएको याद गरेर मात्र डाटा अन गर्ने बानी गर्नुहोस् ।


रनिङ एप बन्द गर्नुहोस्

कतिपय एपहरु ब्याकग्रउण्ड डाटा अफ गरे पनि चलिरहेको हुन्छ । जस्तो कि भाइबर, फेसबुक मेसेन्जर आदि । डाटा जोगाउनु छ र तत्काल यी एप चलाउनु छैन भने फोनको सेटिङमा गएर एप्स भित्र जानुहोस् । त्यहाँ ‘रनिङ एप’ सेक्सन हुन्छ, त्यहाँभित्र जानुहोस् । कुनकुन एप चलिरहेको छ भन्ने त्यहाँ देखिन्छ । एन्ड्रोइड तथा फोनको सिस्टम एपबाहेक अन्यलाई डिस्एबल गर्नुहोस् ।


अटो अपडेट अफ गर्नुहोस्

एन्ड्रोइड फोनका एप्लिकेसनहरुले नयाँ फिचर थपिरहेका हुन्छन्, एपमा परिमार्जन तथा सुधार गरिरहेका हुन्छन् । यस्ता सुधारहरु तपाईंको फोनमा पनि आउँछ, त्यसलाई एप अपडेटका रुपमा प्ले स्टोरले पठाउँछ । कतिपय अपडेट नचाहिने खालका हुन्छन् । यस्ता अपडेटले डाटा धेरै खाइदिन्छ ।

एप अटो अपडेट अप्सन बन्द गर्नुस् । यसका लागि प्ले स्टोरमा जानुहोस् । प्ले स्टोरको माथि अप्सन हुन्छ । अप्सनको सेटिङमा जानुहोस् । त्यसको पहिलो नम्बरमै ‘अटो अपडेट एप्स’ हुन्छ । त्यसमा क्लिक गर्दा तीनवटा अप्सन आउँछ । ‘डु नट अटो अपडेट एप्स’ मा क्लिक गर्नुहोस् ।


लाेकेसन अफ गर्नुहाेस्

फोनमा लोकेसन अन छ कि ? सेटिङमा गएर हेर्नुहोस्, लोकेसन अन छ भने डाटा धेरै खर्च हुन्छ । अटो सिंक पनि अलवेज अन छ कि ? अटो सिंक वाइफाइमा मात्र गर्नुस् । यसका लागि एकछिन फोनको सेटिङमा एकाउन्ट एण्ड सिंक अप्सनमा हेर्नुहोस् ।


अन्य विभिन्न तरिका

मोवाइल फोन सेवा प्रदायक कम्पनीहरु (एनटिसी, एनसेल आदि) ले विभिन्न डाटा प्याकेज ल्याएका हुन्छन् । सस्तो डाटा प्याकेज लिनुहोस् । एनसेलमा थोरै रकममा धेरै डाटा दिने भने पनि चाँडै सकिन्छ तर एनटिसीमा थोरै डाटाले पनि धेरै चलाउन सकिन्छ । क्रोम, सफारी, ओपेरा लगायतका ब्राउजरहरुमा थोरै डाटामा नेट चलाउने अप्सन हुन्छ, ती अप्सन छान्नुहोस् ।

फेसबुक ट्विटर आदिमा बाह्य लिंकहरु क्लिक गर्दा (बाह्य लिंक भन्नाले कुनै वेवसाइटको लिंक, जस्तो कि विकास टाइम्स डटकम) ती साइटमा पुगिन्छ । यसो गर्दा धेरै डाटा खर्च हुन्छ । फेसबुक ट्विटरको सेटिङमा गएर हेर्नुभयो भने बाह्य लिंक इन्टरनल ब्राउजरमा खोल्ने कि नखोल्ने भन्ने अप्सन हुन्छ । इन्टरनल लिंकमा जाने अप्सन रोज्नुभयो भने बाह्य लिंक क्लिक गर्दा डाटा थोरै खपत हुन्छ ।

सस्तोमा डाटा चलाउने यी तरिका सबैका लागि उपयोगी छ । यी उपयोगी तरिका साथीभाई तथा आफन्तलाई लिंक सेयर गरेर दिनुस् । उनीहरुलाई तपाईंले सेयर गर्नुभएकाे लि‌ंक निकै मूल्यवान उपहार सावित हुनेछ ।

0 Comments